काठमाडौं, फागुन ११ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको छाया मन्त्रीमण्डलको पहिलो बैठकले मन्त्रालयहरूमा हुने नीतिगत भ्रष्टाचारमा सम्बन्धित छायाँ मन्त्रीहरूले निगरानी बढाउनुपर्ने निष्कर्ष निकालेको छ।
गत जेठमा गठन भएको कांग्रेसको छायाँ सरकारको पहिलो बैठक आइतवार अपराह्न बसेको थियो। बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो टेप प्रकरणले सरकार भ्रष्ट रहेको पुष्टि गरेको कुरा उठेको थियो।
बैठकमा सहभागी छायाँ सरकारकी श्रममन्त्री डाक्टर डिला संग्रौला पन्तले सरकारका हरेक कामहरू निगरानी गर्नुपर्ने बैठकको निष्कर्ष रहेको बताइन्।उनले मन्त्रालयमा हुने नीतिगत भ्रष्टाचारमा स्वयं प्रधानमन्त्रीको समेत संलग्नता रहेको भन्दै बैठकमा यसलाई सिरियस्ली लिनुपर्ने कुरा उठेको बताइन्।
बैठकमा यही १३ गतेदेखि बस्ने प्रतिनिधिसभाको बैठकमा कांग्रेसले कस्तो रणनीति तय गर्ने भन्नेबारे पनि छलफल भएको थियो। संग्रौलाले भ्रष्टाचारविरोधी अभियानलाई अझ सशक्त गर्दै संसद र सडकबाट कांग्रेसले सरकारको भ्रष्ट आचरणको प्रतिरोध गर्ने बताइन्।