फागुन १२ । घरेलु टिम न्युजिल्याण्डविरुद्धको पहिलो टेष्टमा भारत पराजित भएको छ। विलिङटनमा टेष्टको चौंथो दिन सोमबार भारत न्युजिल्याण्डसँग १० विकेटले पराजित भएको हो।
यससँगै न्युजिल्याण्डले टेष्ट क्रिकेटमा १०० औं जित निकाल्न सफल भएको छ।
पहिलो टेष्टमा खराब प्रदर्शन गरेको भारतले दिएको ९ रनको लक्ष्य न्युजिल्याण्डले दोस्रो ओभर नसकिदै पुरा गर्यो। फ्दोस्रो इनिङ्समा न्युजिल्याण्डका टम लाथम ७ तथा टम ब्लुन्डेल २ रनमा अविजित रहे।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा अलआउट हुँदै १ सय ६५ रन बनाएको थियो। उसका अजिंका रहानेले सर्वाधिक ४६ रन जोड्दा मायांक अग्रवालले ३४ रन जोडे।
मोहमद शामीले २१, ऋषब पन्तले १९ तथा पृथ्वी श १६ रनमा आउट भए। चेतेश्वर पुजारा ११, हनुमा विहारी ७ र कप्तान विराट कोहली २ रनमा पेभेलियन फर्किए। न्युजिल्याण्डका टिम साउथी र केली जेमिसनले ३/३ विकेट लिए।
न्युजिल्याण्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ४८ रन बनाएको थियो।
कप्तान केन विलियम्सनले ८९ रन जोड्दा केली जेमिसन र रोस टेलरले समान ४४ रन बनाए। कोलिन डी ग्रान्डहोमेले ४३ रन जोडे। भारतका इशान्त शर्माले ५ तथा रविचन्द्र आश्विनले ३ विकेट लिए।
त्यसपछि आफ्नो दोस्रो इनिङ्स थालेको भारत अलआउट हुँदै १ सय ९१ रनमा समेटियो। जसको कारण न्युजिल्याण्डले सामान्य लक्ष्य पाएको थियो। भारतका मायांक अग्रवालले ५८ रनको अर्धशतकीय इनिङ्स खेले। अजिंका रहानेले २९ तथा ऋषब पन्तले २५ रन बनाए।
भारतलाई सस्तैमा समेट्न टिम साउथीले ५ तथा ट्रेन्ड बोल्टले ४ विकेट लिए।
जितसँगै २ खेलको सिरिजमा न्युजिल्याण्डले १-० को अग्रता बनाएको छ। एजेन्सी