क्वालालम्पुर, फागुन १२ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन्।
पछिल्लो केही समयदेखि जारी राजनीतिक रस्साकस्सीका बीच सोमबार दिउँसो महाथिरले पदबाट राजीनामा दिएका हुन्। स्थानीय समायानुसार उनले सोमबार दिउँसो १ बजेतिर राजदरबारमा आफ्नो राजीनामा पत्र बुझाएका छन्।
मलेसियाको प्रधानमन्त्री कार्यालयले महाथिरले राजीनामा दिएको पृष्टि गरेको छ। महाथिरले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न पदबाट राजीनामा दिएका जनाइएको छ।
सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाको प्रधानमन्त्री बनेका महाथिर पछिल्लो समय सन् २०१८ मा पुनः प्रधानमन्त्री बनेका थिए। चौथो प्रधानमन्त्रीका रुपमा २२ वर्ष मलेसियाको नेतृत्व गरेका महाथिरले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए।
तर, पछिल्लो समयको प्रधानमन्त्री कालमा उनले पार्टी भित्रैबाट विभिन्न चरणका विवादको सामाना गर्नुपर्यो।
९४ वर्षीय महाथिरको पछिल्लो समय प्रधानमन्त्रीका अर्का आकांक्षी ७२ वर्षी अनवर इब्राहिमसँग राजनीतिक द्वन्द्व शुरु भएको थियो।