नेपालगञ्ज, फागुन १३ । भारतको रुपैडिहाबाट ब्राउनसुगर बोकेर आएका दाङका किरणसिंह ठकुरी नाकामा पक्राउ परेका छन्।
चार ग्राम ब्राउनसुगर र १५ वटा नाइट्रोभेट ट्याब्लेट बोकेर आइरहेका ठकुरीलाई जमुनाहा नाकामा रहेको लागु औषध नियन्त्रण ब्यूरोको टोलीले नियन्त्रणमा लिएको हो।
शरीरका विभिन्न ठाउँमा ब्राउनसुगर र ट्याब्लेट राखेर ठकुरी नेपाल भित्रिएका थिए। जमुनाहा नाकामा चौबिसै घण्टा खटिने ब्यूरोले खानतलासीका क्रममा ब्राउनसुगर र ट्याब्लेट फेला पारेको हो।
ठकुरीले भारतबाट १५ हजार रुपैयाँमा ब्राउनसुगर र ट्याब्लेट किनेर ल्याएका थिए। ठकुरी ब्राउनसुगर लिन नै नेपालगञ्ज हुँदै रुपैडिहा पुगेको प्रहरीले बताएको छ। चार ग्राम ब्राउन सुगरलाई धेरै नै मानिने गरिन्छ। प्रहरीले ठकुरी कारोबारी भएको जनाएको छ। रुपैडिहाबाट ब्राउनसुगर लगेर दाङमा बेचबिखन गर्ने प्रहरीको भनाई छ।
नेपालगञ्ज नाकामा पर्ने भारतीय बजार रुपैडिहामा सहजै ब्राउनसुगर पाउदा बाँकेसहित छिमेकी जिल्लाहरु दाङ, सुर्खेत, दैलेखसम्मका युवाहरु ब्राउनसुगर किन्न रुपैडिहा पुग्ने गरेको पाइन्छ।