दिल्ली, फागुन १३ । भारतको उत्तरपूर्वी दिल्ली मंगलबार पनि तनावग्रस्त बनेको छ। महिनौंदेखि जारी नागिरकता कानून संसोधन विधेयकको विरोध आइतबारबाट हिंसात्मक बन्दै गइरहेको छ।
मंगलबार बिहानसम्म दिल्लीमा एक जना प्रहरी अधिकृतसहित ७ जनाको ज्यान गएको छ भने करिब १०० भन्दा बढी घाइते भएका छन्। त्यसमध्ये ४८ जनाको अवस्था गम्भिर भएको भन्दै अस्पतालमा भर्ना गरिएको छ।
प्रदर्शनमा प्रहरी र विवादास्पद नागरिकता कानून संसोधन विधेयक विरोधी र बिजेपी समर्थकहरू बीचमा पटकपटक झडप भएको छ। ढुंगामुढा र केही प्रदर्शनकारीले सोमबार दिउसै हातमा रिभल्वर बोकेर अन्धाधुन्ध फायर गरेका दृश्य सञ्चार माध्यमहरूले प्रशारण गरेका थिए।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको भ्रमणमा रहेकै बेला भड्किएको हिंसात्मक आन्दोलनलाई कसरी मत्थर बनाउने भन्ने विषयमा छलफल गर्न केन्द्र सरकारका गृहमन्त्री अमित शाह दिल्लीका मुख्यमन्त्री अरविन्द केज्रीवाललाई भेट्ने कार्यक्रम रहेको छ।
सोमाबर भारत आइपुगेका ट्रम्प मंगलबार साँझसम्ममा अमेरिका फर्किने कार्यक्रम रहेको छ।
भारत सरकारले ल्याएको विवादास्पद नागरिकता कानूनको विरोधमा महिनौंदेखि श्रृंखलावद्ध प्रदर्शन भइरहेका छन्। मुस्लिम, महिला र अल्पसंख्यक समुदायले यस कानुनको विरोध गर्दै आफूमाथि राज्यले नागरिकता खोस्ने प्रपञ्च गरिरहेको आरोप लगाएका छन्।