काठमाडौं, फागुन १३ । करणी उद्योगबाट सफाइ पाएका तत्कालीन सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकमा उपस्थित हुन अझै समय लाग्ने भएको छ।
गृह जिल्ला दाङका नेता तथा कार्यकर्तासँग भेटघाट गर्न सोमबार दाङ पुगेका महराले केही दिन उतै बिताउने भएकाले बैठकमा उपस्थित हुन नसक्ने भएका हुन्।
संसद सचिवालयका कर्मचारी रोशनी शाहीलाई जबरजस्तीको प्रयास गरेको आरोपमा उनी पक्राउ परी थुनामा रहेका थिए। झन्डै १ सय ३४ दिनसम्म प्रहरी हिरासत र थुनामा रहेका महरा भने जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएर गत फागुन ६ गते रिहा भएका थिए।
जिल्ला अदालत काठमाडौंले उनले सफाइ पाएको जानकारी फागुन ७ संघीय संसद् सचिवालयमा पठाइएको थियो। उक्त जानकारी सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकमासमेत जानकारी गराएपछि महरालाई संसद बैठकमा फर्किन बाटो खुलेको थियो। उनी असोज १८ गते पक्राउ परेका थिए।
उता, रोशनी शाही भने संसद् सचिवालयका नियमित काममा फर्किएकी छन्। उनले सोमवारबाट संघीय संसद् सचिवालयमा हाजिर गरी नियमित काममा फर्किएकी संसद् सचिवालयले जनाएको छ।