दिल्ली, फागुन १४ । दिल्लीको उत्तर पूर्वी इलाकामा पछिल्लो केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ। प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो।
भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन मंगलबार बेलुकी गुरु तेग बहादुर अस्पताल पुगे।
अस्पतालमा पीडितलाई भेटेपछि हर्षवर्धनले भने, ‘अहिलेसम्म हिंसामा मारिनेको संख्या १३ पुगिसकेको छ। सोमबार ८१ जनालाई घाइते अवस्थामा यहाँ ल्याइएको थियो। मंगलबार ६९ घाइतेलाई अस्पताल ल्याइएको छ। यीमध्ये ३०–४० जना उपचार गरेर घर फर्किसकेका छन्। यहाँ मैले विभिन्न वार्डमा बिरामीको अवस्था देखेको छु। यीमध्ये कति बिरामीको स्थितीलाई गम्भीर मान्न सकिन्छ।’
यस्तै, उत्तर पूर्वी दिल्लीको जाफराबादमा नागरिकता संशोधन कानूनविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई हटाइएको छ।
मेट्रो स्टेशन नजिकै प्रदर्शन गरिरहेका मध्ये धेरैजसो महिला थिए।समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली पुलिसले यसको जानकारी दिएको हो।
जाफराबादमा महिलाले केही दिनदेखि सीएएविरुद्ध विरोध प्रदर्शन गरिरहेका थिए। तर शनिबार राती प्रदर्शनकारीमध्ये केहीले जाफराबाद रोड अवरुद्ध गरिदिए।
आइतबार धर्ना स्थलबाट केही पर सीएएको समर्थनमा भारी मात्रामा भीड जम्मा हुन थाल्यो जसका कारण स्थिती तनावग्रस्त भयो। सोमबार त हिंसा नै सुरु भयो।
दिल्ली पुलिसको पत्रकार सम्मेलनः
दिल्ली पुलिसका डीसीपी मनदीप सिंह रंधावाले पत्रकार सम्मेलन गर्दै हिंसा र त्यससँग जोडिएको कारवाहीबारे जानकारी दिए। रंधमवाका अनुसार सोमबारदेखि सुरु भएको हिंसामा अहिलेसम्म १० जनाको ज्यान गइसकेको छ। यीमध्ये ९ जना सर्वसाधारण छ एकजना हेड कन्स्टेबल रतन लाल हुन्।
डीसीपी रंधावाले भने, ‘दिल्ली पुलिसका ५६ जवान घाइते भएका छन्। उत्तरी–पूर्वी दिल्लीमा पर्याप्त मात्रामा जवान तैनाथ गरिएका छन्। हामीसाग अर्धसैनिक बलमा सीआरपीएफ र एसएसबी छन्। यीबाहेक ग्राउन्डमा पेट्रोलिङका अन्य थुप्रै तरिकाले निगरानी गरिँदैछ। पुलिसले धारा १४४ लगाएको छ। १४४ लागु हुँदा हुँदै पनि आज केही इलाकामा हिंसा भएको छ। म दिल्ली निवासीलाई अपिल गर्छु कि कानूनलाई आफ्नो हातमा नलिनुहोस्। असामाजिक तत्वविरुद्ध कडा कारवाही गएिको छ। ड्रोन्सको मद्दत लिइरहेको छु। हामी सिसिटीभी रेकर्डिङको पनि अनुसन्धान गरिरहेका छौं।’