काठमाडौँ, फागुन १४ । प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ। मंगलबारको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो।
गणपूरक सङ्ख्या नपुगेको भन्दै नेपाली कांग्रेस सांसद अतहर कमाल मुसलमानले नियमापत्ति गरेपछि मंगलबार सभामुख अग्नि सापकोटाले बैठक १५ मिनेटका लागि स्थगन गरेका थिए। त्यसपछि संसद सचिवालयले सूचना जारी गरी प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगन भएको जनाएको थियो।
मंगलबारको बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने कार्यसूचि रहे पनि गणपूरक सङ्ख्या नपुगेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन। सो प्रस्ताव बुधबारको बैठकमा प्रस्तुत हुने सम्भावना छ।