नवलपुर, फागुन १४ । पाचौं संस्करणको राईनो गोल्डकपको फाइनल खेल बुधबार हुँदैछ।
नवलपुरमा हुने फाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने छन्। मध्येबिन्दु मिनि रंगशालामा हुने फाइनल खेल दिउँसो साँढे २ बजे सुरु हुनेछ।
विभागीय डर्बी भिडन्तमा दुवै टिम जित निकाल्दै सिजनको पहिलो उपाधि हात पार्न चाहन्छ। तर, दुवै टिम दोस्रो रोजाईका खेलाडीसहित मैदान उत्रने छन्।
आर्मी युद्ध शाहीको कप्तानीमा खेल्नेछ। पुलिस भने हेम तामाङको कप्तानीमा मैदान उत्रने छन्।
आर्मी यस सिजन दोस्रो पटक मोफसलको प्रतियोगिताको फाइनलमा पुगेको हो। आर्मी झापामा भएको सताक्षी गोल्डकपको फाइनलमा मछिन्द्रसँग पराजित भएको थियो। पुलिस भने यस सिजन पहिलो पटक फाइनल पुगेको हो।
आर्मीले हिमालयन शेर्पा क्लबलाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। आर्मीलाई फाइनल पुर्याउन सुदिल राईले ह्याट्रिक पुरा गरेका थिए।
यता, पुलिस भने सेमिफाइनल खेलको २४ घण्टा नबित्दै फाइनल खेल्न लागेको हो। पुलिसले मंगलबार च्यासल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गरेको थियो। पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरेका थिए।
१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ।