नेपालगञ्ज ,फागुन १४। बाँके राष्ट्रिय निकुञ्जले दुईवटा हात्ती थपेको छ। चारवटा हात्ती रहेको निकुञ्जमा दुईवटा थप भएसँगै ६ वटा हात्ती पुगेको छ। चितवनको कसराबाट बुधबार दुईवटा हात्ती ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिए।
प्रमुख संरक्षण अधिकृत भट्टराईका अनुसार, निकुञ्जमा हात्ती सफारी गर्नेको संख्या बढ्दैछ। पर्यटकलाई हात्तीमा सफारी गर्नेदेखि गस्तीमा समेत सहज हुने भट्टराईले बताए। ५ नम्बर प्रदेशमा नेपाल भ्रमण वर्षको उद्घाटन बाँके राष्ट्रिय निकुञ्जबाट सुरुवात गरिएपछि पर्यटकको रोजाई बढिरहेको छ। भ्रमण वर्षको क्रममा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हात्ती सफारी गरेका थिए। प्रमुख संरक्षण अधिकृत भट्टराईले निकुञ्जमा बाह्य र आन्तरिक पर्यटक बढिरहेको बताए।