काठमाडौं, फागुन १४ । सेयर बजारमा पछिल्ला दिनमा देखिएको उच्च दरको वृद्धि बुधबार पनि कायम रह्यो। आज सेयर बजार परिसुचक ५०।९३ अंकले बढेर एक हजार ५९६ कायम भएको छ भने ४ अर्ब १५ करोड रुपियाँको सेयर कारोबार भएको छ।
आजको कारोबारमा कुल १ सय ८० कम्पनीको सेयर किनबेच भएकोमा ४७ वटा कम्पनीका लगानीकर्ताले मात्रै गुमाएका छन्। तीन वटा कम्पनी एभरेष्ट बैंक, राष्ट्रिय बीमा कम्पनी र युनिलिभर लिमिटेडको सेयरमा सर्किट ब्रेक लागेको छ।
सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको सुचक तीन दशमलव ८६ प्रतिशतले बढ्दा नेप्सेमा उच्च वृद्धि हुन पुगेको हो।
त्यस्तै, जीवन बीमा समूहको सुचक ६ दशमलव १२ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूहको सुचक ४।६३ प्रतिशतले बढेको छ। निर्जीवन बीमा समूह, होटल र म्युचुअल फण्डको सुचक तीन प्रतिशतभन्दा बढिले बढेको छ।
आज धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, शिवम सिमेन्ट र नेपाल बैंक छन्। नेपाल लाइफको कारोबार झण्डै २२ करोड छ भने शिवमको १८ करोड ४९ लाख, नेपाल बैंकको १७ करोड ९६ लाख रुपियाँको वृद्धि छ।
अधिकांश कम्पनीका लगानीकर्ताले आकर्षक कमाई गर्दा रादि विद्युत कम्पनीका लगानीकर्ताले उच्च दरमा घाटा सहेका छन्। त्यस्तै, बोटलर्स नेपालको सेयर ४ सय रुपियाँले घटेको छ।