काठमाडौं, फागुन १५ । नेपाली कांग्रेसका सासद एवम् उद्योगपति विनोद चौधरीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन लागेको आरोपको खण्डन गरेका छन्।
बुधबार मात्रै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णय गरेको थियो। तर निर्णय गरेको केहि घण्टापछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमै भेटेर अर्थमन्त्री खतिवडालाई नै दोहोर्याउने भन्दै सचिवालयको निर्णय कार्यान्वयन नगर्ने बताएका थिए।
अर्थमन्त्री खतिवडालाई रोक्नकै लागि गौतमलाई अगाडि सारिएको र कांग्रेस सांसद विनोद चौधरीसहित केही व्यापारी समेतको पहलमा डिनर मिटिङ गरेर योजना बनेको सूचना पाएको प्रधानमन्त्रीको सचिवालयले दाबी गरेको थियो।
यता सांसद चौधरीले भने, सामाजिक सञ्जालमा ट्वीट गदैं त्यसको खण्डन गरेका हुन्। ‘अर्थमन्त्री युवराज खतिवडालाई हटाउन लागेको भनेर प्रकाशित आख्यान श्वैर कल्पनाशीलताको नमुना हो,’ चौधरीले ट्वीट गरेका छन्, ‘खतिवडा संघीय प्रणालीको वित्तीय व्यवस्थापनको उल्लेखनीय योगदान पुर्याएका विज्ञ हुनुहुन्छ। उहाँको बहिर्गमन र आगमन नितान्त उहाँकै पार्टीको आन्तरिक विषय हो।’