फागुन १५ । इलाम माङसेबुङ गाउँपालिका–६ का ४१ वर्षीय सुरेन्द्रकुमार राईको वैदेशिक रोजगारीका क्रममा मलेसियामा निधन भएको छ। उच्च रक्तचापका कारण बाटोमा ढलेका उनको उपचारका उपचारका क्रममा यही फागुन ८ गते ज्यान गएको पारिवारिक स्रोतले जनाएको छ।
‘कामबाट फर्किंदै गर्दा दिउँसो ३ बजेतिर सडकमा लड्नुभएछ’, एक आफन्तले भने, ‘साथीहरूले राति ८ बजे थाहा पाएर उद्धार गरेछन्। अस्पताल लैजाँदा रातको २ बजे भएछ। ३–४ दिनमा उहाँ बित्नुभएछ।’
सुरेन्द्रको शव बिहीबार राति आइपुग्ने र गाउँ लगेर अन्त्येष्टि गरिने भएको छ। घरमा मृतकका श्रीमती र तीन नाबालक सन्तान छन्। पाँच वर्षअघि सम्पदा म्यानपावरबाट मलेसिया गएका उनी त्यहाँको लेक सुन इन्जिनियरिङ कम्पनीमा कार्यरत थिए। गत वर्षको दसैंमा छुट्टी आएर उनी फर्किएका थिए।