धरान, फागुन १५। धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल बिहिबार हुँदैछ। धरान रंगशालामा हुने दोस्रो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ।
सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र र पुलिस दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ।
यस सिजन दुई उपाधि जितिसकेको मछिन्द्र पुलिसलाई हराएर अर्को उपाधि नजिक पुग्न चाहन्छ। तर, पाँच पटकको च्याम्पियन पुलिस मछिन्द्रलाई हराएर फाइनल पुग्न चाहन्छ।
त्यसैले मछिन्द्र र पुलिसबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।
विजेताले फाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ। भारतको युके एफसीलाई २-० ले हराउँदै मनाङ उपाधि नजिक पुगिसकेको छ।
यस अघि क्वाटरफाइनलमा मछिन्द्रले भारतीय क्लब सन्डे क्लब एफसी कोलकोत्तालाई हराएको थियो। पुलिसले मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरलाई हराएको थियो।
प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने छन्। सर्वोकृष्ट खेलाडीले होण्डा कम्पनीको डियो स्कुटर पाउनेछन्।
यस्तै सर्वाधिक गोलकर्ताले ३५ हजार र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही २५ हजार पाउने छन्।