दैलेख, फागुन १५ । दैलेखको डुङ्गेश्वर गाउँपालिका ५ का वडाअध्यक्ष टेकबहादुर भण्डारीसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विषेश अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आफ्ना निकटलाई परीक्षामा उत्तीर्ण गराएर अनियमितता गरेको छानबिनबाट पुष्टि भएपछि वडा अध्यक्ष भण्डारीसहित चारजनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
विमागका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वडाअध्यक्ष भण्डारीसहित वडा सदस्यसमेत रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर शाही छनोटमा परेका शिक्षक घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकविरुद्ध भ्रटाचार मुद्दा दायर गरिएको हो।
गाउँपालिका ५ मा रहेको पिपलचौतारा माध्यामिक विद्यालयमा राहत दरबन्दी निमावि तहको सामाजिक विषयको गाउँपालिकाले लिएको परीक्षामा परीक्षा सञ्चालनअगावै वडा अध्यक्ष भण्डारीको निर्देशन र सल्लाहबमोजिम परीक्षार्थीलाई म्यासेञ्जरमार्फत प्रश्नपत्र (कुञ्जिका) पठाएको आयोगले जनाएको छ।
शिक्षक छनोटका लागि गाउँपालिकाले गत पुष २६ गते शनिबार परीक्षा सञ्चालन गरेको थियो। उक्त परीक्षामा वडाध्यक्ष भण्डारीको निर्देशनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाहीले परीक्षा सञ्चालनअगावै परीक्षार्थी भण्डारी र विश्वकर्माको प्रश्नपत्र म्यासेन्जरमा पठाएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।
निकट व्यक्तिलाई शिक्षक पदमा नियुत गरी आफूलाई गैरकानुनी लाभ पुर्याउँने बदनीयतले गोपनीयता भंग गरेको तथ्य प्रमाणित भएको र निजहरूको कार्य भ्रष्टाचार निवारण २०५९ को दफ १३ बमोजिमको कसुर भएकाले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ बमोजिम सजायको मागदाबी गर्दै आरोप पत्र दायर गरिकएको प्रवक्ता कोइरालाले बताए।