चितवन, फागुन १५ । नेपाल मगर संघ, जिल्ला समन्वय समिति चितवनले बिहीबार धुमधामका साथ ३८औँ मगर एकता दिवस मनाएको छ। वि.सं.२०३९ सालदेखि हरेक वर्ष फागुन १५ गते मगर एकता दिवस मनाउँदै आएको छ। सोहीअनुसार यसवर्ष विषेश कार्यक्रम गरेर दिवस मनाएको चितवन जिल्ला अध्यक्ष खीमबहादर थापामगरले जानकारी दिए।
देशभरका मगर समुदायलाई एउटै छाताभित्र गोलबन्द गर्न सफल भएको दिनको उपलक्ष्यमा फागुन १५ लाई मगर समुदायले ऐतिहासिक एकता दिवसको रूपमा मनाउँदै आएको उनले बताए। यसअघि विभिन्न जिल्लामा विभिन्न नाममा संघसंस्था सञ्चालित थिए। २०३९ सालबाट भने देशैभरका मगर समुदायलाई एकै ठाउँमा समायोजन गरेर ‘नेपाल मगर संघ’को नामबाट छाता संगठन बिस्तार गरेपछि विभिन्न जिल्लामा जिल्ला शाखाको रूपमा बिस्तार हुँदै आएको छ।
बिहीबार नारायणी नदी किनारमा भएको कार्यक्रममा एकापसमा शुभकामना आदानप्रदानसँगै नाचगान गरेर दिवस मनाएको हो। कार्यक्रममा बलबिक्रम थापामगर, सुमन आलेमगर, सञ्जय थापामगर, कमला घर्तीमगरलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांगितिक प्रस्तुति दिएका थिए। साथमा सालैजो, सोरठी, कौराहा, झ्याउरेलगायतका सांस्कृतिक एवम् मौलिक नृत्यसहित मगर जातीको सांस्कृतिक भेषभूषासमेत प्रदर्शनी गरिएको थियो।
कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष कमल पिठाकोटे मगरले फागुन १५ गते समगर समुदायको एकता दिवस भएकोले विशेष तरिकाले मनाएर देशविदेशमा रहेका आम नेपालीसामु पहिचान दिलाउनुपर्ने बताए। ‘यस्ता खालका कार्यक्रमले एकापसमा भाइचारको सम्बन्ध पनि कायम गराउँछ,’ उनले भने।
नेपाल आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष सुरवीर थापामगरले संघसंस्थामार्फत मगर समुदायलाई पनि क्रियाशील बनाउनुपर्ने सुझाव दिए। कार्यक्रममा चितवन जिल्लामा रहेका ४१ वटा प्रारम्भिक समितिको सहभागी थिए।
सोही अवसरमा समाजसेवी ईन्दिरा रानामगर, मगर समुदायबाट स्नातकोत्तर गरेका, लोकसेवा आयोगमा नाम निकालेर सरकारी जागिर खाएका, गतवर्षको इसईई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्र–छात्रा तथा नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनमा रहेर सचिव तथा कोषाध्यक्षको जिम्मेवारी निभाइसकेका पूर्व पदाधिकारीहरूलाई सम्मान गरेको थियो।
नदी किनारमा कार्यक्रम हुनुपूर्व नारायणगढस्थित बालकुमारी क्याम्पस चोकबाट सहिदचोक, पुलचोक हुँदै नदी किनारसम्म बृहत र्यालीसमेत आयोजना गरेको थियो। र्यालीमा विभिन्न प्रारम्भिक समितिहरूले आ–आफ्नो समितिको ब्यानर बोकेका थिए।