फागुन १६ । म्यानचेस्टर युनाइटेड शानदार जितसहित युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। अन्तिम ३२ को दोस्रो लेग अन्तर्गत बिहीबार राति घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले क्लब ब्रुगलाई ५–० ले पराजित गर्दै समग्रमा ६–१ को जितसहित प्रि–क्वाटरफाइनलको यात्रा तय गरेको हो।
पहिलो लेगमा म्यानचेस्टर युनाइटेड १–१ को बराबरीमा रोकिएको थियो । घरेलु मैदानमा भएको दोस्रो लेगमा युनाइटेडका लागि फ्रेडले ८२ र इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे।
यस्तै ब्रुनो फेर्नान्डेसले २७ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गरे। इग्हालोले ३४ तथा म्याकटोमिनीले ४१ औँ मिनेटमा गोल गरेका हुन्। २२ औँ मिनेटमा डेली सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि क्लब ब्रुग अधिकांश समय १० खेलाडीमा सीमित भयो।