दिल्ली, फागुन १६ । दिल्लीमा भएको दंगा रोकिएपछि मानिसहरू नालीतिर जान डराइरहेका छन्। इन्टेलिजेन्स ब्यूरोका एक कर्मचारी अंकित शर्माको शव फेला परेपछि बिहीवार गोकुलपुरीको गंगा विहार जंक्सन नजिक नालीबाट थप दुई शव फेला परेका छन्।
नालीमा शव फेदा परेको खबर तीव्र गतिमा फैलिरहेको छ। प्रहरीले शवको खोजीमा बन्द नालीहरू उघारिरहेको छ। दिल्ली हिंसामा अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ।
सिँचाइ तथा बाढी नियन्त्रण विभागका कर्मचारी अनिल त्यागीले बिहीवार नालीमा एक शव तैरिरहेको भेटेको बताए। निगम कर्मचारी र प्रहरीले शवहरूको खोजी गरिरहेका छन्।
चाँदबागको नालीमा मुशर्रफ नामक व्यक्तिको शव भेटिएको थियो। मृतककी बहिनी फरहीनले भनिन्, ‘हामीहरू सबै ठाउँमा गयौं तर फेला पारेनौं। एकजना परिचितले हामीलाई मुशर्रफको शरीर नालीमा फ्याँकिएको बताए। नालीमा नभेटेपछि हामी बिहीवार बिहान जीबीटी अस्पताल गयौं। त्यहाँ हामीले उसको शव फेला पार्यौं।’
मोहशीन नामक व्यक्तिको शव भजनपुराको नालीमा भेटिएको थियो। मोहसीनका काका वारिस अली खानले भने, ‘मंगलवार साँझ ५ बजे ऊ भजनपुरा गएको थियो। भीडले उसको कार घेर्यो र प्यान्ट उतार्न भन्यो। त्यसक्रममा उसले साथीलाई फोन गर्यो। तर उसलाई बचाइनुअघि नै मानिसहरूले मारेर नालीमा फ्याँकिदिए।’एजेन्सी