सुर्खेत, फागुन १६ । नेपालगञ्जदेखि सुर्खेतको सिम्ता जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शुक्रबार बिहान सुर्खेतको गुर्भाकोट नगरपालिकामा पर्ने पोखरे नजिकै लु १ झ ४०७९ नम्बरको जीप दुर्घटना भएको हो।
मृत्यु हुनेमा सिम्ता गाउँपालिका–९ का भूपाल खत्री रहेका छन्। उनको दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जीपमा सवार ६ जनामध्ये पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए।
घाइते हुनेहरूमा सिम्ता गाउँपालिका–९ का जीवन पुन, सिम्ता–५ का जय बहादुर अधिकारी, ईश्वर गिरी, सूर्य रोकाय, बिरु नाथ योगी रहेका छन्। घाइतेमध्ये चालक पुनको अवस्था चिन्ताजनक रहेको डिएसपी रावलले जानकारी दिए।