चितवन, फागुन १६ । पत्रकार वसन्त पराजुलीको ‘कुमाता’ कथासङ्ग्रह प्रकाशित भएको छ।
सामाजिक यथार्थवादी विषय वस्तु समेटेर तयार पारिएको पराजुलीका कथासङ्ग्रहलाई भुँडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याउन लागेको हो। अहिले पुस्तकको छपाइको काम सम्पन्न भएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए। “हामी एक हप्ताभित्रै बजारमा ल्याउने गरी गृहकार्य गरिरहेका छौँ”, उनले भने।
‘कुमाता’मा सङ्ग्रहित दश कथा फरकफरक विषयवस्तुका छन्। कथाले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरेको कथाकार पराजुलीले जानकारी दिए। “कथामा समेटिएका विषयवस्तु र पात्रहरु हाम्रै छरछिमेक र समाजमा घटेका घटनाजस्ता लाग्छन्, त्यसैले यो सङ्ग्रहभित्रको कथा हरेक व्यक्तिले आफ्नै समस्या हो कि भन्ने महसुस गर्छ”, पराजुलीले भने। गरिबी, वैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेलजस्ता सन्दर्भ कथाका वरिपरि रहेका छन्। यी कथाले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन्।
वरिष्ठ सहित्यकार एवं लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले कथासङ्ग्रहमा भूमिका लेख्दै मानवीय जीवनका महत्वपूर्ण पाटालाई गतिलोसँग केलाउन कथाकार सक्षम देखिएको बताए। उनी लेख्छन्, “अधिकांश कथामा पुरुष वैदेशिक रोजगारीमा गएका, विश्वासघात गरेका देखाइएका छन् भने नारी पात्रले छिटो विश्वास गर्ने गरेका, धोका पाएका र यौनकुण्ठा देखाइएका छन्।” कथाका विषयवस्तु र परिवेशलाई सहज र सम्प्रेषणीय बनाइएकाले पनि पराजुलीका कथाहरु आधुनिक नेपाली कथाको मार्गमा नयाँ गोरेटो बनेको पनि उनेले बताए।
्
कूल १० कथा र ११२ पेजको कथासङ्ग्रहको मूल्य रु २०० छ। पराजुली झण्डै दुई दशकदेखि गोरखापत्र दैनिकमा आबद्ध छन् भने त्योभन्दा बढी समयदेखि स्थानीय चितवन पोष्ट दैनिकमा कार्यरत छन्। पराजुलीले राष्ट्रिय र स्थानीयपत्र पत्रिकामा समय सन्दर्भअनुसारका विषय वस्तुमा लेखसमेत लेख्दै आएकाछन्।