काठमाडौं, फागुन १६ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासको बैठक सकेर वरिष्ठ नेता माधवकुमार नेपाल बालुवाटार पुगेका छन्। शुक्रवार विहान प्रचण्ड निवास खुमलटारमा चार सचिवालयका नेतासहित बैठक बसेको थियो। उर्जामन्त्री बर्षमान पुनसमेत रहेको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतम सहभागी थिए।
विहान ८ बजे बसेको बैठक सकिएलगतै प्रचण्ड चितवन पुगेका छन् भने माधव नेपाल बालुवाटार पुगेका छन्। प्रचण्ड निवासमा भएको निस्कर्ष सुनाउन र प्रधानमन्त्रीलाई सुझाव दिन नेपाल बालुवाटार पुगेका हुन्। उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लिने निर्णय भएदेखि नेता नेपालको दौडधुप निकै बाक्लो भएको छ। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झाउने र गौतमलाई राष्ट्रियसभामा लिने गरी कसरत थालेका छन्।
बालुवाटार पुगेका नेपाल र प्रधानमन्त्री ओलीबीच सम्वाद भइरहेको छ। खुमलटारबाट सिधै नेपाल बालुवाटार पुगेका हुन्। खुमलटारमा बसेको बैठकले सचिवालयको निर्णय कार्यान्वयन नभए पार्टी दुर्घटनामा जाने निस्कर्ष निकालेको छ। पार्टीलाई दुर्घटनाबाट रोक्ने कसरत थालेका नेपालले खुमलटारको निर्णय प्रधानमन्त्रीलाई सुुनाउने भएका छन्। खुमलटार बैठकले पार्टी निर्णय जसरी पनि कार्यान्वयन गराउने निर्णय गरेको छ। त्यही निर्णय लिएर नेता नेपाल बालुवाटार पुगेका छन्।
पछिल्लो समय नेता नेपालसँग सचिवालयका नेताहरुले धमाधम भेटघाट गरिरहेका छन्। पार्टीभित्र नेपालको चर्को आलोचना गर्दै आएका उपप्रधानमन्त्री इश्वर पोखरेलले नेता नेपाललाई भेटिसकेको छन् भने महासचिव विष्णु पौडेल निरन्तर सम्वादमा छन्।