वीरगन्ज, फागुन १६ । पर्साको वीरगन्जमा पेटमा लागू औषध गाँजा बाँधेर तस्करी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय इनर्वाबाट खटिएको प्रहरी टोलीले पेटमा २ किलो गाँजा बाँधेर वीरगन्जबाट भारतर्फ जाँदै गरेका ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारतीय राज्य बिहारको छपरा जिल्ला अन्तर्गत महुली गाउँ घर भएका ३५ वर्षी दिनेश सहनी, २७ वर्षीय मिथलेश सहनी र ३३ वर्षीय अजय सहनी छन्।
प्रहरीका अनुसार उनीहरु २ किलोका दरले ६ किलो गाँजा पेटमा बाँधेर पैदल हिँडेर भारततर्फ जाँदै गरेका थिए। विशेष सूचनाका आधारमा परिचालन भएको टोलीले तीनै जनालाई वीरगन्ज महानगरपालिका–१६ शंकराचार्य गेट नजिकबाट पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनाविरुद्ध लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।