काठमाडौं, फागुन १७ । चीनको हुबेइ प्रान्तको वुहानसहितका विभिन्न ६ शहरबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीलाई क्वारेन्टाइनमा राखेको १४ दिन भएको छ। दुई हप्तासम्म क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य परीक्षण हुनेछ।
खरिपाटीमा रहेको क्वारेन्टाइन सेन्टरमा बसेका १७५ जनाको नमूना संकलन सुरु भएको छ। उनीहरुको नमूना संकलन गरी परीक्षण गरिने छ। परीक्षणपछि नोवेल कोरोना भाइरसको संक्रमण नदेखिएमा घर जान दिइने छ।
विश्वका ५० भन्दा बढी देशमा संक्रमण फैलिएको कोरोना भाइरसको इपिसेन्टर वुहानबाट उद्धार गरिएका नेपालीलाई सावधानिका लागि खरिपाटीमा दुई हप्ते क्वारेन्टाइनमा राखिएको हो।
१४ दिनअघि क्वारेन्टाइनमा राखिँदा सुरुमा लिइएको नमूनामा परीक्षणमा सबैमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको थियो।
१४ दिनपछि शनिबार संकलन गरेको नमूनाको परीक्षण गरेपछि त्यसको रिपोर्टका आधारमा क्वारेन्टाइन सेन्टरमा रहेकाहरुलाई त्यहाँबाट बिदा गरिने छन्। नमूना परीक्षणको रिपोर्ट आउन दुईदेखि तीन दिन लाग्छ।