काठमाडौं, फागुन १७ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले मुलुकमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाका काम दु्रत गतिमा अगाडि बढेको दाबी गरेका छन्।
मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री नेम्बाङले आफ्नो कार्यकालमा विकास निर्माण कार्यले तिब्रता पाइरहेको बताएका हुन्।
मध्यपहाडी राजमार्ग, हुलाकी सडक, उत्तर दक्षिण राजमार्ग अन्तर्गत कालिगण्डकी करिडोर, कर्णाली राजमार्ग, कोशी करिडोर, गल्छि–त्रिशुली–मैलुङ–स्वाफ्रुबेशी–रशुवागढी सडक खण्ड, मदन भण्डारी राजमार्ग लगायत अन्य सडकको काम तीव्र गतिमा अगाडि बढिरहेको उनले बताए।
यस अवधिमा स्थानीय सडक र राजमार्गमा गरी ४० वटा पुल निमार्ण भएको उनको भनाइ छ । नेपाल पूर्वाधार निमार्ण कम्पनी लिमिटेड गठन भइ प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त र कार्यलय स्थापना हुने कार्य अन्तिम चरणमा पुगेको उनले जानकारी दिए।
आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको थप कामसहित कुल २२ दशमलव ८८ प्रतिशत पुजिगत वित्तिय प्रगति भएको मन्त्री नेम्बाङले दाबी गरेका छन्। काठमाडौं उपत्यकाका खाल्डा खुल्डी पुर्ने कार्यमा सफलता पाएको तथा उपत्यकामा २७ किलोमिटर सडक कालोपत्रे गरेर सकिएको र यसै आर्थिक बर्षभित्र थप ८५ किलोमिटर कालोपत्रे गर्ने काम सक्ने योजना रहेको मन्त्री नेम्बाङले जानकारी दिए।
उनका अनुसार उपत्यकाका विभिन्न १७ वटा चोकमा ट्राफिक बत्ती बल्न थालेको र असार मसान्तमित्र ६ वटा चोकमा बत्ती बाल्ने गरी काम भइरहेको छ।