पोखरा, फागुन १७ । गृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य रामबहादुर थापाले पार्टीभित्रको विवाद सामान्य भएको बताएका छन्।
उनले बाहिर प्रचार भएजस्तो कुनै समस्या नरहेको दाबी गरे। ‘एउटा सिट अहिले पनि खाली छ। सचिवालय सदस्य बामदेव गौतमलाई पठाउने निर्णय पार्टीले गरेको छ,’ उनले भने, ‘पठाउने सन्दर्भमा प्रक्रियागत कानुनी विषयमा मन्त्रिपरिषद्ले सिफारिस गर्ने हो। पार्टीले टुंग्याएको छ। मन्त्रिपरिषद्ले राष्ट्रपतिलाई सिफारिस गर्छ। यो विवादभन्दा पनि कतिपय विषय विवादास्पद् बनाइएको हो।’
थापाले अहिले नै मध्यावधि चुनाव सम्भव नभएको समेत स्पष्ट पारे। पार्टीको विवादका कारण मध्यावधि चुनाव हुनसक्ने आँकलन राजनीतिक विश्लेषकहरुले गरिरहेको अवस्थामा त्यो सम्भावना अहिले नरहेको उनको भनाइ छ। मध्यावधि निर्वाचनको आँकलन गरिएको छ। ‘कतिपय राजनीतिक विश्लेषकले यो अनुमान गरेका छन्। पार्टीको विवाद बढेर सदन विघटन हुने र मध्यावधिमा जानसक्ने कुरा अनुमानमात्रै हो। त्यसो हुँदैन,’ उनले भने।
पोखरामा गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले केही दिनभित्रै नेपालको मानचित्र समेटिएको नक्सा सार्वजनिक गरिने दाबी गरे। सीमा विवाद् अन्त्यका लागि भारतीय पक्ष पनि सकारात्मक भएको भन्दै उनले छिट्टै टुंगिने सुनाए। ‘भारतीय पक्षबाट पनि सकारात्मकरुपमा लिएका छन्। अनौपचारिकरुपमा प्रक्रिया चलेका छन्। आन्तरिक तयारी पूरा लगभग पूरा भएको छ,’ उनले भने, ‘छिट्टै कालापानी क्षेत्रसमेत समेटेर नक्सा जारी हुन्छ।’
थापाले सरकार विकासमा केन्द्रित भएको बताए। ‘अहिले सदन चलिरहेको छ। बीचमा सभामुख चयनको प्रक्रियामा विवाद भएको कारण १ महिना अलि अवरुद्ध भयो। अहिले बाधा छैन। सभामुख चयन भइसकेको छ। थुप्रै विधेयकहरु प्रक्रियामा छन्,’ उनी भन्छन्, ‘संघीयता कार्यान्वयन सम्बन्धि विधेयकहरु तयार छन्। यसलाई सदनले पूर्णता दिन्छ। यो वर्षलाई हामीले विकासको प्रारम्भ वर्ष भनेका छौं। त्यसैअनुसार अघि बढ्छ।’ समसामयिक विषयमा पार्टीभित्र बहस हुनु सामान्य भएको उनको तर्क छ।