काठमाडौं, फागुन १८ । एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटको दोस्रो खेलमा नेपाललाई हङकङले जितका लागि १ सय ५५ रनको लक्ष्य दिएको छ।
थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो।
हङकङका निजाकट खानले सर्वाधिक ४८ रनको योगदान दिए। उनले पहिलो विकेटका लागि साहिद वासिफसँग ५८ रनको साझेदारी गरेका थिए। वासिफ २६ रनमा आउट भए।
यस्तै कप्तान अजिज खानले २९ रन जोड्दा हरुन मोहमद अर्सादले २७ रन बनाए। जेम्स जोनले १३ रन जोड्दा वाकस खान ५ रनमा अविजित रहे।
नेपालका सन्दीप लामिछाने र सुशान भारीले २र२ विकेट लिए। कुशल मल्लले १ विकेट लिए।
हङकङविरुद्ध आज नेपाललाई जित्नै पर्ने दबाब रहेको छ। उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाल पहिलो खेलमा मलेसियासँग २२ रनले पराजित भएको थियो।
हङकङको भने यो पहिलो खेल हो। नेपाललाई हराएर हङकङ सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ।