काठमाडौं, फागुन १८ । राष्ट्रिय सभा सदस्य मनोनितका बिषयमा विवाद चर्किरहेका बेला सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ। आइतवार विहान साँढे ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालयको बैठक डाकिएको केन्द्रीय सदस्य बिष्णु रिजालले बताएका छन्।
पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय अघिल्लो सचिवालय बैठकले गरेको थियो। सचिवालय बैठकले निर्णय गरेपनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको निर्णय कार्यान्वयन गर्न नसक्ने जनाउ दिएका थिए। त्यसपछि नेकपाभित्र विवाद चर्केको थियो। विवाद चर्किरहेका बेला सचिवालय बैठक डाकिएको छ।
आइतवार सचिवालय बैठकले गरेको निर्णय उल्ट्याउने प्रयास पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्। अन्य सदस्यहरुलाई सहमतिमा ल्याउन सके अघिल्लो सचिवालयको निर्णय उल्टिने छ भने गौतम राष्ट्रिय सभा सदस्य बन्नबाट बंचित हुनेछन्।
भोली (सोमबार) मन्त्रीपरिषदको बैठक बस्दैछ। मन्त्रीपरिषदको बैठकभन्दा पहिले राष्ट्रिय सभा सदस्यको विवाद सुल्झाउने गरी बैठक डाकिएको केन्द्रीय सदस्य रिजालले बताए। ‘सचिवालयले आज सुझबुझपूर्ण निर्णय लिनेछ’ नेता रिजालले भने।
सचिवालय बैठकले लिन आजको निर्णय नै सोमबार बस्ने मन्त्रीपरिषदको बैठकले कार्यान्वयन गर्ने भएको छ। उपाध्यक्ष गौतम वा अर्थमन्त्री युवराज खतिवडाका लागि आज राष्ट्रिय सभाको ढोका खुल्नेछ। गौतमलाई राष्ट्रिय सभामा लिन सचिवालय भित्र बहुमत छ।
अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ रहेका छन् भने हाललाई राष्ट्रिय सभामा खतिवडालाई नै लिनुपर्ने अडानमा प्रधानमन्त्री ओली र सचिवालय सदस्य तथा उपप्रधानमन्त्री इश्वर पोखरेल रहेका छन्।
आजको बैठकले मध्यमार्गी बाटो खोल्ने सम्भावना रहेको छ। गौतमलाई राष्ट्रिय सभा र खतिवडालाई ६ महिना अर्थमन्त्रीको निरन्तरता हुने सम्भावना रहेको छ।