काठमाडौं, फागुन १८ । प्रतिनिधिसभाकी सांसद विन्दा पाण्डेले आइतबारको संसदमा महिला हिंसाका विभिन्न स्वरुपका विरुद्ध विशेष अभियान सञ्चालनको आवश्यक रहेको भन्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेकी छिन्।
सांसद पाण्डेले “बोक्सा–बोक्सी, दाइजो लगायतका कुरीति तथा एसिड प्रहार जस्ता आपराधिक कार्य देशमा विद्यमान रहेको अवस्थामा यस्ता अमानवीय, असंवेदनशील र अमर्यादित प्रथा प्रचलन कुरीति र विकृतिको अन्त्यका लागि कानूनी कारवाही गर्न तथा यस सम्बन्धमा विशेष अभियान सञ्चालन गर्न आवश्यक भएकोले” भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेकी हुन्।
प्रस्तावका समर्थकहरुमा सांसदहरु नवराज सिलवाल, कल्याणी कुमारी खड्का र सरिता कुमारी गिरी रहेका छन्।
प्रस्ताव पेश गर्दै सांसद पाण्डेले समानता र सामाजिक न्यायको विषय उठाउँदा उठाउँदै पनि महिला माथि हुने हिंसाका स्वरुपहरु बढ्दै जानु दुःखद भएको बताइन्।
प्रस्ताव पेश गरेपछि बोल्ने सांसदहरुले प्रस्तावको पक्षमा बोल्दै कुप्रथाहरु कम हुँदै जानुको सट्टा बढ्दै गएकोमा चिन्ता गर्दै यस विरुद्ध विशेष अभियान चाल्नुपर्ने बताए।
संसद बैठक अहिले पनि चलिरहेको छ र सांसदहरुले प्रस्तावलाई समर्थन गर्दै प्रस्तावको पक्षमा बोलिरहेका छन्।