काठमाडौँ, फागुन १९ । अदालतको अवहेलना गरेको आरोपमा नेपाल प्रहरीका महानिरीक्षक ठाकुर ज्ञवालीसहित प्रहरीका चार उच्च अधिकारी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ।
अदालतले रिहा गरेका व्यक्तिलाई पटक–पटक अदालत परिसरबाटै पुनः पक्राउ गरेको मुद्दामा फैसला दिँदै सर्वोच्च अदालतले गएको शुक्रबार चार प्रहरी अधिकारी विरुद्ध अवहेलना मुद्दा चलाउन भनेको थियो।
सोही अुनसार आइतबार प्रहरी महानिरीक्षक ज्ञवालीसहित सर्वोच्चले महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रमुख डिएसपी सन्तोष राठौर, महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तम सुवेदी र महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी कौशल बुढाथोकी विरुद्ध अवहेलना मुद्दा दर्ता गरेको सर्वोच्चका प्रवक्ता नेत्र आचार्यले जानकारी दिएका छन्। चार प्रहरी अधिकारीविरुद्ध दर्ता भएको अवहेलना मुद्दाको नम्बर २०७६–एनएस–००२९ रहेको छ।
गएको शुक्रबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डम्बरबहादुर शाहीको संयुक्त इजलासले भीमप्रसाद अधिकारी, हरिचन्द्र खड्का र विष्णुप्रसाद अधिकारीलाई अदालतले रिहा गर्न आदेश दिएपछि पनि प्रहरीले अदालत परिसरबाटै पक्राउ गरेको भन्दै भीमप्रसाद शर्माले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गरी आदेश दिँदै उनीहरुलाई प्रहरीले सर्वोच्च परिसरबाटै गैरन्यायीक रुपमा अदालतको आदेशको अवहेलना गरी पक्राउ गरेको देखिएकाले सात दिन भित्र लिखिज जवाफ माग गरेको थियो।
संविधानको धारा १२८(४) अनुसार अदालतबाट जारी भएको आदेश नमान्नेलाई अदालत आफैले प्रतिवेदन तयार पारेर मुद्दा चलाउन पाउने अधिकार दिएको छ।
अदालतबाट बन्दीप्रत्यक्षीकरणको आदेश जारी भई थुनामुक्त भएका व्यक्तिलाई अदालतको गेटबाटै पुनः पक्राउ गर्नु अदालतको अवहेलना रहेकाले सम्बन्धित प्रहरी अधिकारीलाई ‘संविधानको धारा १२८(४) तथा न्याय प्रशासन ऐन, २०७३ को दफा १७ बमोजिम कारवाही र सजाय किन हुन नपर्ने हो ?’ भन्ने कुराको लिखित जवाफसहित सात दिनभित्र उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको थियो।
अवहेलना मुद्दा दर्ता भएका चारैजनालाई सोमबार म्याद जारी गर्ने र त्यसको सात दिनभित्र उनीहरुलाई अदालत उपस्थित हुन भनिने छ।