काठमाडौं, फागुन २९ । गत डिसेम्बरदेखि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बिहीबार बिहानसम्ममा विश्वभरमा ४ हजार ६ सय ३३ को मृत्यु भइसकेको छ। विश्वका १२४ देशभन्दा बढी देशमा एक लाख २६ हजारभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ। चीनमा बिहीबार बिहानसम्म ३ हजार एक सय ६९ जनाको मृत्यु भएको छ भने ८० हजार ७ सय ९६ जना संक्रमित भएका छन्। त्यसमध्ये ६२ हजार ८ सय निको भएको चिनियाँ स्वास्थ्य आयोगले जनाएको छ।
चीनमा मंगलबार ११ जनाको मात्रै मृत्यु भएको छ भने थप १८ जनामा संक्रमण देखिएको छ। चीनपछि सबैभन्दा बढी इटालीमा ८ सय २७ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै इटालीमा १९६ जनाको मृत्यु भएको छ। इटालीमा संक्रमितको संख्या पनि १२ हजार नाघेको छ।
विश्वका १२४ भन्दा बढी मुलुकमा यसको संक्रमण फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) लाई पहिलो पटक विश्वव्यापी महामारी घोषणा गरिसकेको छ। डब्लूएचओले जनाएअनुसार पछिल्लो दुई हप्तामा चीनबाहिर कोभिड–१९ को संक्रमण १३ गुणा बढेको छ भने ४ हजारभन्दा बढीको ज्यान गइसकेको छ।
‘आउँदा दिनमा अझ बढी संक्रमण, मृत्यु र थप देशहरुमा फैलने आकलन हामीले गरेका छौं,’ डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले भने, ‘त्यसैले हामीले कोभिड–१९ लाई महामारीकै रुपमा लिएका छौं।’ ‘महामारी’ शब्दलाई हल्का र लापर्वाहीपूर्वक नलिन पनि पनि उनले आग्रह गरे।








