धनुषा, चैत्र १ । घरेलु मदिरा पिउँदा धुनषामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ। शनिवार विहानसम्म मृत्यु हुनेको संख्या १२ पुगेको छ भने पाँच जना सिकिस्त विरामी छन्। घरेलु मदिराका कारण धनुषाको क्षीरेश्वरनाथ नगरपालिका २ रमदैया बस्तीमा मृत्युधुन बजिरहेको छ। दुई सातामा मृत्यु हुनेको संख्या १२ रहेको छ।
शुक्रवार राति ईन्द्रजीत महरा, सत्रुधन मण्डल र माउसराम यादवको मृत्यु भएको छ। ईन्द्रजीतको धरानमा, सत्रुधनको जानकी मेडिकल शिक्षण अस्पतालमा र माउसराम यादवको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
होली पर्वको अवसरमा मदिरा सेवन गरेका स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विलास मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र ससुराली घरमा बस्दै आएका धनुषाकै रूपैठाका राजु महरासहित ५ जनाको बुधबार र बिहीबार मृत्यु भएको थियो।
त्यस्तै दुईसाता अघि रमदैया गाउँकै बस्तीमा मदिरा सेवनबाट निरश यादव, भुटन सदा, दशै महरा र विजय सदाको मृत्यु भएको थियो। सुरुमा मृत्युको कारण खुल्न सकेको थिएन। प्रहरी र डाक्टरको अनुसन्धानपछि घरेलु मदिरा सेवन गरेका कारण उनीहरुको मृत्यू भएको पुष्टी भएको छ।