युएई, चैत्र ३ । यूएईस्थित नेपाली दूतावासले दिदै आएका अत्यावश्यक बाहेकका सेवा अनिश्चित समयसम्मका लागि बन्द गरेको छ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारीको घोषणा गरेको र त्यसको प्रभाव यूएईमा समेत देखिन थालेको अवस्थामा दूतावासले कामदार मागपत्र प्रमाणीकरण सम्बन्धी सम्पूर्ण सेवा बन्द गर्ने जनाएको हो।
आइतबार एक सूचना जारी गर्दै चैत ४ गतेदेखि अर्को सूचना जारी नहुदासम्म यो सेवा बन्द रहने दूतावासले जनाएको छ।
ट्राभल डकुमेन्ट, मृतक नेपालीको शव नेपाल पठाउन एनओसी जारी गर्ने, म्याद सकिएको राहदानी बनाउने जस्ता आवश्यक सेवा भने सञ्चालन भइरहने दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले बताइन्।
नेपाल सरकारले फागुन २९ मा विदेश जाने नेपालीको हकमा श्रमस्वीकृति बन्द गर्ने निर्णय गरेसँगै विदेशमा रहेका नेपाली दूतावास तथा नियोगहरुले समेत श्रम र काउन्सुलर सम्बन्धिका सेवा बन्द गर्ने निर्णय गरेका हुन्।
दूतावासको तथ्यांक अनुसार यूएईमा २ लाख ७५ हजार नेपाली कार्यरत छन्। यूएईमा दुईजना नेपालीमा कोरोनाको सक्रमण देखिएको थियो। उपचार गराइरहेका उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको दूतावासले जनाएको छ।




