चितवन, चैत्र ३ । सोमवार पूर्वी चितवनका अधिकांश पेट्रोल पम्प बन्द हुनुको कारण कोरोना भाइरसको प्रभाव मानिए पनि यसको भित्रि रहश्य भने अर्कै छ।
आज (सोमबार) धेरै स्थानका पेट्रोल पम्प कि त बन्द देखिन्थे खुलेकाहरुमा सर्वसाधारणले इन्धन हालेका देखिए। कोरोना भाइरसको संक्रमणले दैनिक उपभोग्य सामानको अभाव हुनसक्ने त्रास देखिएकै बेला पेट्रोल पम्पहरु बन्द हुनु स्वभाविक नै हो तर अधिकांश पेट्रोल पम्प बन्द हुनु कोरोनाको प्रभाव भने होइन। पेट्रोल पम्प व्यवसायीहरुको मनपरीको कारण अधिकांश पेट्रोल पम्पहरु बन्द गरिएका हुन्।
नेपाल आयल निगमसँग पर्याप्त तेल मौज्दात हुँदा हुँदै पनि पूर्वी चितवनमा शनिवारदेखि पेट्रोल पम्पहरु बन्द गरेका हुन्। जसको कारण खुलेका पेट्रोल पम्पहरुमा मात्रै सर्वसाधारणले इन्धन भर्न पाईरहेकाछन्।
पेट्रोल पम्पहरुले अन्तर्राष्ट्रिय मूल्यअनुसार सोमबार मूल्य समायोजन हुनसक्ने अनुमान गर्दै पम्पमा पेट्रोल छैन भनि सर्वसाधारणलाई झुक्याएका हुन्। अन्तर्राष्ट्रिय बजारमा तेल सस्तिएको र नेपालमा पनि सस्तिन्छ भन्ने पुर्व सूचना पाएका कारण उनीहरुले तेल नभरेको बुझिएको छ।
मुल्य समायोजनको सूचना निगमका कर्मचारीहरुले व्यवसायीहरुलाई दिएर कमिसन खाने गरेको समेत आरोप लाग्दै आएको छ। निगमका कर्मचारीले पेट्रोल/डिजेलको भाउ घट्ने पुर्व सूचना व्यवसायीलाई दिएको कारण पनि पेट्रोल पम्पहरु बन्द भएको आरोप लगाइएको छ। पम्पहरुले भने डिजेलबाट सञ्चालन हुने सवारी साधनहरुलाई सहज रुपमा डिजेल दिईरहेको छ।




