चैत्र १३ । ब्राजिलका लिजेण्ड पेलेले पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्वको उत्कृष्ट खेलाडी भएको बताएका छन्।
एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा पेलेले अहिलेको अवस्थामा बार्सिलोनाका लियोनल मेस्सी भन्दा युभेन्ट्सका रोनाल्डो उत्कृष्ट भएको दाबी गरेका हुन्।
विश्व फुटबलका लिजेण्ड पेलेले विश्व फुटबलमा अहिलेका स्थिर खेलाडी भएको बताए। तर, उनले मेस्सीलाई बिर्सन नहुने समेत बताए।
‘मलाई लाग्छ अहिले रोनाल्डो सबैभन्दा स्थिर खेलाडी हो। तर, तपाईले मेस्सीलाई बिर्सनुहुन्न,’ पिलहडो च्यानलसँग पेलेले भने।
विश्व फुटबलमा मेस्सी र रोनाल्डोबीच को उत्कृष्ट भन्ने बिषयमा लामो समयबाट विवाद रहदै आएका छन्। दुवैले विश्व फुटबलमा थुप्रै कीर्तिमान समेत बनाएका छन्। तर, ७९ वर्षे पेलेले रोनाल्डो उत्कृष्ट भएको दाबी गरेका हुन्।
फुटबलको सर्वोच्च उपाधि बालोन डी’ओरको पछिल्लो १२ संस्करणमा मेस्सी र रोनाल्डोले संयुक्त ११ पटक जितेका छन्। मेस्सीले ६ पटक जित्दा रोनाल्डोले ५ पटक जितेका छन्।
यस सिजन मेस्सीले २२ गोल गरेका छन्। यस्तै रोनाल्डोले २५ गोल गरिसकेका छन्।
यस्तै पेलेले विश्व फुटबलमा आफु सर्वकालीन महान खेलाडी भएको समेत बताए।
‘यो मेरो गल्ती होइन। तर, मलाई लाग्छ तिनीहरु सबै भन्दा म राम्रो हुँ। त्यहाँ एक पेले मात्र हुनेछ। त्यहाँ म जस्तो अरु कोही हुनेछैन,’ उनले भने। एजेन्सी