काठमाडौं, चैत्र १५ । कोरोना भाइरस (कोभिड–१९) बारे ‘भ्रम फैलाउने’ ३ वेबसाइट बन्द गरिएको प्रेस काउन्सिल नेपालले जानकारी दिएको छ। शुक्रबार ती वेबसाइटमा नेपालबाट कुनै सामग्री प्रकाशन प्रशारण गर्न नपाउने गरी बन्द गरिएको हो।
‘नोबेल कोरोना भाइरसको संक्रमणका घटना अत्यन्तै आपत्तिजनक, भ्रमपूर्ण र अतिरञ्जित शीर्षक राखेर प्रकाशित हुने गरेको काउन्सिलको अनुगमनबाट देखिन आएको छ’, काउन्सिलको विज्ञप्तिमा भनिएको छ, ‘नियमानुसार दर्ता एवं सूचीकरण नभएका ३ वटा वेबसाइट नेपालभित्र प्रकाशनरप्रशारण हुन नसक्ने गरी नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार भएको छ।’
योसँगै हालसम्म ११ वटा वेबसाइटलाई नेपालबाट खुल्न नसक्ने गरी बन्द गरिएको काउन्सिलले जनाएको छ।
यसैगरी काउन्सिलले अन्य ३ वटा वेबसाइटलाई आपत्तिजनक तथा विवादास्पद सामग्री हटाउन र २४ घण्टाभित्र स्पष्टकरण दिन निर्देशन दिएको छ।





