चितवन, चैत्र २२ । क्षेत्रपुरस्थित महानगर तरकारी तथा फलफूल बजार सामाजिक दूरीको रेखाङ्कन गरेर खुलाइएको छ।
कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न विभिन्न नियमहरू समेत बनाएर शनिबार साँझदेखि बजार खुलाइएको फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवनले जनाएको छ।
संघले शनिबार बजारमा दुई मिटरको दूरीमा सामाजिक दूरी कायम गरी रेखाङ्कन गरेको छ। बजार नखुल्दा कृषकहरूको पनि गुनासो आएकाले आफैँले सुरक्षा अपनाएर बजार खोलिएको कृषि प्रवद्र्धन बजार विकास प्रा.लि.का प्रबन्ध निर्देशक एवम् व्यवसायी थिरप्रसाद धितालले बताए। बजार बिहान र बेलुका दुवै समयमा खोलिने उनले बताए।
भारतीय उत्पादन र गाडीलाई महानगर तरकारी बजारमा प्रवेश निषेध गरिएको उनले जानकारी दिए। चितवनमा यतिबेला प्रशस्त तरकारी उत्पादन भएकाले बजारमा तरकारीको अभाव नहुने उनले बताए। सवारीसाधन र पैदलयात्रीले बजारमा प्रवेश गर्दा १ नम्बर गेट र बाहिर निस्कँदा २ नम्बर गेट अनिवार्यरूपमा प्रयोग गर्नुपर्ने नियम बनाइएको छ।
स्टलवरपरको फोहोर व्यवस्थापनमा व्यवसायीले सहजीकरण गर्ने फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष मदनप्रसाद सापकोटाले बताए। कोरोना संक्रमणको जोखिम कम गर्न आफ्नो सुरक्षा आफैँले अपनाउनुपर्ने, भारतीय उत्पादन र गाडीहरूलाई प्रवेश निषेध गर्ने र घरदेखि व्यवसाय स्थलसम्म आवतजावतको व्यवस्था आफैँले गर्ने निर्णय भएको उनले बताए।