धादिङ, बैशाख ५ । कोभिड–१९ को महामारी रोक्न जारी गरिएको लकडाउन लम्बिएपछि पृथ्वी राजमार्ग हुँदै पैदलै घर हिँडेका मजदूर धादिङ र चितवनको सीमाना मौवाखोलामा रोकिएका छन्।
कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदूर काम नपाइएको र खानेकुरा पनि सकिएपछि हिँडेर घर जान लागेका बेला चितवन प्रहरीले धादिङको सीमाना क्षेत्रमा रोकेको हो।
बिहीबार बिहानैदेखि ३ सयभन्दा बढी मजदूर रोकिँदा उनीहरु दिनभर सो क्षेत्रमा भोकभोकै परेका थिए। यसरी मजदूर रोकिएपछि मौवाखोला बजारवासीले उनीहरुलाई हिँडेर घर जान दिन प्रहरीलाई आग्रह गरे पनि बजारबासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि बजारबासी र मजदूर मिलेर प्रहरीसँग झडपमा उत्रिएका थिए।
घटनाले उग्ररुप लिने भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईबीच वार्ता भएको छ। वार्तापछि मजदूरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भएको छ।
धादिङका विभिन्न इँटा उद्योग, विद्यालय निर्माण र गाउँमा पुनःनिर्माणका लागि आएका मजदूर घरतर्फ जान लागेका थिए। एक जिल्लाबाट अर्को जिल्ला जानका लागि अतिआवश्यकीय सवारी साधनसमेत रोकिएपछि प्रमुख जिल्ला अधिकारीले वार्ताका माध्यमबाट समस्या समाधान गरेका हुन्।