काठमाडौं, बैशाख ६ । कोरोना भाइरस (कोभिड–१९)ले विश्व नै अक्रान्त बनिरहेको समयमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल सरकारलाई सात लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ। ‘कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’को लागि उक्त रकम सहयोग गरिएको रिलायन्सले जनाएको छ।
कोरोना भाइरसका कारण कोही पनि समस्यामा नपरून् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गतको सरकारलाई सहयोग गरिएको रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले जानकारी दिए। ‘यो संकटपूर्ण अवस्थामा सरकारसँग हामीले पनि साझेदारी गरेर कोरोना भाइरसको संक्रमणबाट मुक्त हुन हातेमालो गरेका हौँ,’ उनले भने, ‘सबैले आ–आफ्नो स्थानबाट यसरी नै सहयोग गर्दै जाने हो भने सरकारलाई काम गर्न पनि सजिलो हुन्छ भने जनताले पनि अभावमा बस्नुपर्दैन।’ हालको विषम परिस्थितिमा यो खालको सहयोग गर्नु सबै नागरिकको दायित्व भएको उनले बताए।




