चितवन, बैशाख १० । लकडाउनका कारण स्थगन भएको पठनपाठन अनलाइको माध्यमबाट सुरू हुन थालेको छ। चितवन जिल्लाका केही विद्यालयहरूले अनलाइनबाटै पढाई सुरू गरिसकेको सन्दर्भमा भरतपुर अस्पतालले सञ्चालन गर्दै आएको नर्सिङ संकायको पढाई पनि भोलिदेखि अनलाइनकै माध्यमबाट सुचारू गर्ने भएको छ। अस्पतालले आज सूचना जारी गर्दै भोलिदेखि नै अनलाइनबाट पढाई सुरू हुने जानकारी गराएको हो। अनलाइनको माध्यमबाट पठनपाठन सुरू गर्ने भएकोले विद्यार्थी सबैले आफ्नो मोवाइलमा जुम एप्लिकेशन डाउनलोड गर्न पनि आग्रह गरेको छ।
नियमित कक्षा सञ्चालन गर्न सम्भव नभएकोले वैकल्पिक माध्यमबाट पठनपाठन चलाउने निर्णय भएको नर्सिङ कार्यक्रम संयोजक मीनाकुमारी भुसालले बताइन्। ‘पठनपाठन रोकिएपछि विद्यार्थीलाई आ–आफ्नै तरिकाले घरमै बसेर पठापाठनलाई निरन्तरता दिन भनिएको थियो,’ उनले भनिन्, ‘अब हामीले अनलाइनबाट पनि पढाई चलाउँदै छौँ।’ तर, लकडाउनको समयमा घरमै पनि पढाईलाई विशेष जोड दिन उनले आग्रह गरिन्।





