बैशाख ११ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थायी आवासको स्वीकृति अर्थात ग्रिन कार्डसम्बन्धी काम तत्कालका लागि रोक्ने सम्बन्धी कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन्।
विभिन्न छुटसहितको निर्देशन अनुसार ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनका लागि स्थगित भएको छ। तर ट्रम्पले यो अवधी बढ्न सक्ने बताएका छन्।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारीका कारण उत्पन्न भएको आर्थिक मन्दीको परिवेशमा अमेरिकी कामदारका लागि रोजगारीका अवसरहरु सुरक्षित गर्नका लागि यस्तो निर्णय लिएको बताएका छन्।
आलोचकले भने ट्रम्पले महामारीलाई आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गरेको आरोप लगाएका छन्। उनी जहिले पनि आप्रवासीको विपक्षमा रहँदै आएका छन् र त्यही नै उनको प्रमुख चुनावी मुद्दा पनि बन्ने गरेको छ। ट्रम्पको पछिल्लो आदेश आउँदो नोभेम्बरमा हुने चुनाव लक्षित रहेको विश्लेषण गरिएको छ।
ट्रम्पले भने ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको बुधबारको ब्रिफिङ्गको क्रममा अर्थतन्त्र खुलेपछि अमेरिकीहरुलाई रोजगारीमा प्राथमिकता दिनका लागि ग्रिन कार्ड सेवा रोकेको बताए।
हरेक वर्ष अस्थायी आवास स्वीकृतिमा कामका लागि विश्वका विभिन्न देशबाट मानिसहरु कामका लागि अमेरिका पुग्छन् । सो सेवा भने ६० दिने अवरोधबाट प्रभावित हुने छैन।
यस्तै अमेरिकी नागरिकका श्रीमान–श्रीमती तथा सन्तानहरु, अहिले नै अमेरिकामा रहेका ग्रिन कार्डका आवेदक, कामका लागि अमेरिका छिर्न चाहने डाक्ट, नर्स तथा अरु स्वास्थ्यकर्मीहरुमा पनि यो नियम लागु हुने छैन। तर ग्रिन कार्ड पाएकाहरुले परिवारका अरु सदस्यलाई अमेरिका छिराउने प्रक्रियामा भने रोक लाग्ने भएको छ यो अवधीमा।
राष्ट्रपतिको यो आदेश विरुद्ध कानूनी चुनौति आउने सम्भावना छ।