काठमाडौं, बैशाख १९ । सर्वोच्च अदालतले नोभेल कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्दै रिट निवेदन दर्ता र सुनुवाइ गर्ने भएको छ।
गत चैत १२ गते अदालतको पूर्ण बैठकले कोरोनासँग सम्बन्धित रिटहरु, बन्दी प्रत्यक्षीकरण र सुधारगृहमा रहेका बालबालिका जिम्मा लिनेसम्बन्धी निवेदन, पक्रउ पूर्जी अनुमति र जरुरी पक्राउ पूर्जीको समर्थन मात्र गर्ने निर्णय गरेको थियो।
सर्वोच्च अदालतले अब कोरोना भाइरसबाट बच्न शतर्कता अपनाउँदै नियमित मुद्दा हेर्न लागेको हो। अदालत प्रवेश गर्दा थर्मल गनले ज्वरो जाँच्ने र अनिवार्य मास्क लगाएर मात्र सेवाग्राहीलाई अदालत प्रवेश गर्न दिइने भएको छ।
अदालत प्रवेश गर्दा र परिसरभित्र रहँदा १ मिटरको दूरी अनिवार्य कायम गर्न र भिडभाड नगर्न पनि अदालतले आग्रह गरेको छ। त्यस्तै, सर्वोच्च अदालत प्रांगणमा झुण्ड बनाएर नबस्न अदालतको बगैंचामा जान, फोटो खिच्न र झुण्ड बनाएर बस्न नदिइने अदालत प्रशासनले जनाएको छ।




