चितवन, बैशाख २५ । कोरोना भाइरसको संक्रमण नफैलिँदासम्म जुनसुकै देशका मानिसको लागि बिदा मनाउन, अध्ययन अनुसन्धान गर्न होस् या कुनै विशेष दिन मनाउन, पर्यटकीय गन्तव्य पहिलो रोजाइमा पर्दथ्यो। फुर्सद भएको समयमा यत्तिकै घुम्न पनि पर्यटकीय क्षेत्रमा पुग्ने गर्थे। तर, अहिले कोरोना भाइरसका कारण विश्व नै आक्रन्त बनेको छ। जसको प्रभाव नेपालमा पनि पर्यो। फलस्वरूप विगत डेढ महिनादेखि नेपाल पनि बन्दाबन्दीमा छ।
मानिसहरु घरभित्र सीमित छन्। समग्र देशकै अर्थतन्त्र खलबलिएको छ। लकडाउनको समय लम्बिदै जाँदा सबै क्षेत्रमा यसको प्रभाव बढ्दै गएको छ। त्यसमध्ये पर्यटन र होटल व्यवसाय आयआर्जनमा नेपालको लागि महत्त्पवूर्ण क्षेत्र हो। तर, लकडाउनकै कारण ठूलो लगानी गरेका व्यवसायी समेत चिन्तित बनेका छन्। कतिपय लगानी गर्दैगरेका नयाँ लगानीकर्ता निराश छन्। बिस्तारै वातावरण सहज बन्दै गएको यस क्षेत्रलाई माथि उकास्न अब सजिलो छैन। परिस्थितिले गर्दा व्यवसायी चिन्ताको तलाउमा डुबेका छन्।
तैपनि व्यवसायीहरूले विकल्प सोच्न थालिसकेका छन्, अबको पर्यटन क्षेत्र र होटल व्यवसायको भविष्य कसरी सुध्रिएला भनेर। अर्कोतर्फ सरकारले नै होटल तथा पर्यटन क्षेत्रको लागि वर्तमान असरप्रति दृढ संकल्पसहित सम्बोधन गरिदिए केही राहत मिल्ने आसमा छन्। ‘पर्यटन क्षेत्रले कोभिड १९ का कारण दीर्घकालीन नोक्सान त व्यहोर्न परेको छ नै। यदि सरकारले यस क्षेत्रमा परेको असरलाई सम्बोधन नगरे होटल तथा रेस्टुरेण्ट बन्द हुने अवस्था छ,’ पर्यटन व्यवसायी सुमन घिमिरे भन्छन्, ‘यो क्षेत्र बन्द हुनु भनेको सयौं युवाको प्रत्यक्ष रोजगार गुम्नु हो। त्यसैले सरकारले यसतर्फ ध्यान दिनु जरूरी छ।’
लकडाउनपछिको समयमा पर्यटन क्षेत्र बचाउन सरकारलाई केही सुझाव दिँदै उनले भने, ‘आर्थिक वर्ष २०७७/०७८ को भ्याट सम्भव भए केही वर्ष ६ दशमलव ५ प्रतिशतसम्म छुट गर्नुपर्छ। साथै पर्यटन व्यवसाय सम्बन्धी व्ययवसायसँग स्थानीय नगरपालिकाले लिंदै आएको भाडा कर कम्तिमा एक वर्षलाई नउठाइयोस् भन्ने हाम्रो माग हो।’
उनले राष्ट्रिय निकुञ्जको प्रवेश टिकटको समय अवधी पनि तीन दिन गर्न माग गरे। नेपाली र विदेशीको हवाई भाडा दरमा एकरूपता, नेपालमा विकेन्ड संस्कृतिसँगै घुम्न निस्कने वातावरण मिलाउन शनिबार र आइतबार बिदा दिने प्रचलन सुरु गर्न पनि सरकारलाई सुझाव दिए। ‘पर्यटन क्षेत्रमा लिइएका ऋणलाई कृषिमा दिइने ब्याज दर सरह सुविधा दिइयोस्,’ उनले थपे, ‘भइरहेको ऋणको ब्याज दर घटाइयोस् र अहिले बैंकलाई तिर्नु पर्ने लोनको किस्तालाई (मोराटोरियम) अधिस्थगन गरियोस्। अर्थात् पछि तिर्न सक्ने व्यवस्था मिलाइयोस्। र, विद्युतको डिमान्ड शुल्क शून्य गरियोस्।’
चितवनको पर्यटकीय क्षेत्रको कुरा गर्नुपर्दा सौराहासँगै पटिहानी, मेघौली, गोलाघाटलगायतका क्षेत्र बढी प्रचलित क्षेत्र हो। अन्य क्षेत्रलाई पनि पर्यटन प्रवर्द्वन गर्ने उद्देश्यले सम्बन्धित स्थानीय तहहरूले पर्यटकीय क्षेत्रको लागि नयाँनयाँ कार्यक्रम ल्याएर प्रचारप्रसार गर्ने कामको शुरूवात भइसकेको थियो। तर, कोरोना भाइरसको संक्रमणले विश्व नै हल्लाएपछि नेपालमा पनि त्यसैको असरले ती सबै कार्यक्रम स्थगित भएका छन्। जसकारण कुनै पनि पर्यटकीय गन्तव्यमा अहिले शून्यता छाएको छ।
तर, घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई सुविधा दिने योजनासहित बनाइएका पर्यटकीय क्षेत्रका होटलहरू अहिले सुनसान भएका छन्। अत्यावश्यकबाहेकका सबै सेवा ठप्प भएपछि पर्यटन क्षेत्र खुल्ने कुरै भएन। तर, अरू बेलामा सरकारलाई कर बुझाएर सहयोग गर्दै आएका सबै खालका व्यवसायीलाई राज्यतर्फबाटै सम्बोधन गरिदिए थोरै भए पनि राहत मिल्नेमा सौराहाका पर्यटन व्यवसायी घिमिरेको भनाइप्रति जगतपुरका होटल व्यवसायी भरत पौडेल पनि पूर्ण सहमत छन्।
‘सबैको कथा व्यथा एउटै हो। त्यसैले सरकारले हामीलाई पनि राहत दिनुपर्ने स्थितिमा हामी आइसक्यौं,’ उनी भन्छन्, ‘बैंकबाट ऋणको किस्ता पछाडि सारिदिने, मिल्छ र सकिन्छ भने ब्याज मिनाहा गरिदिने। भाडामा चलेका व्यवसायीको लागि भाडा छुट गरिदिने लगायतका सुविधामा सरकारले सहयोग गरिदिने हो भने केही राहत मिल्थ्यो।’ व्यवसाय नै पूर्णरूपमा बन्द भइसकेपछि कर्मचारीलाई तलब कसरी दिने भन्ने चिन्ताले पनि थप पिरोलेको उनको भनाइ छ।
‘पाँच किलो चामल, एक पोका नुन, एक पोका तेल राहतमा बाँडेर ८० करोड देखाइन्छ। सही ठाँउमा सही तरिकाले सदुपयोग गर्ने हो भने सबै कुरा सहज तरिकाले चल्छ। स्वच्छ, सफा सुरक्षित तरिकाले सेवा सुविधा उपलब्ध गराएर त्यसवापत थोरै मात्र मुनाफा राखेर काम गर्ने हाम्रो उद्देश्य हो,’ उनी भन्छन्, ‘हामीले आजको भोलि नै पैसा कमाउने होइन। माछा पर्यो जालमा त्यसलाई जसरी पनि खाउ भन्ने होइन। त्यसैले अबको दिनमा पनि हामी चल्नको लागि स्वच्छ, सफा पारिवारिक वातावरणमा निकै कम रकममा आन्तरिक पर्यटनको सेवा र सुविधामा काम गर्ने सोच छ।’