काठमाडौं, बैशाख २८ । लिपुलेक–लिम्पियाधुरा क्षेत्रको सीमा विवादबारे नेपाल सरकार निस्कृय रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारप्रति असन्तुष्टि जनाएको छ। आइतबार तीन अध्यक्षद्वारा संयुक्त विज्ञप्ती जारी गर्दै वक्तव्य जारी गर्दैमा आफ्नो जिम्मेवारी पूरा हुने सरकारको सोचाइ गलत भएको बताएको हो। राप्रपाले नेपाल सरकारको निष्कृयता र उदासिनताप्रति खेद प्रकट गरेको छ।
सीमा विवादबारे सरकारको ध्यानाकर्षण गराउँदै नेपाली भूमिको अतिक्रमण, सेनाको उपस्थिति र सडक निर्माण कार्यको विरोध गर्दै तत्काल कुटनीतिक बार्ताको माध्यमबाट समस्याको समाधान खोज्न पनि राप्रपाले सुझाएको छ। भारतीय राजदुतलाई परराष्ट्र मन्त्रालयमा बोलाएर विरोध जनाउने र राष्ट्रिय सहमतिको आधारमा भावी रणनीति तयार गर्न सर्वदलीय बैठक तत्काल बोलाउन पनि राप्रपाले माग गरेको छ।
‘अन्तर्राष्ट्रिय क्षेत्रको समेत ध्यानाकर्षण गर्न आवश्यक पहल गर्ने, त्रिदेशीय हिन्दु सम्बन्धमा निर्णय गर्दा नेपालसँग परामर्श र सहमति नगरेकोप्रति खेद प्रकट गर्दै त्यसबारे चिनियाँ सरकारको ध्यानाकर्षण गराउन आवश्यक छ,’ वक्तव्यमा भनिएको छ। भारतले नेपालप्रति देखाएको मिचाह प्रवृत्तिप्रति पनि राप्रपाले भर्त्सना व्यक्त गरेको छ।
पिठाैरागढदेखि मानसराेवर जान भारतले नेपाली भूमिमा सडक बनाएर पनि उद्घाटन गरिसकेकाे समाचार बाहिर आएपछि यतिबेला चाैतर्फी रुपमा सरकारकाे विराेध भइरहेकाे छ। नेपालकाे दार्चुला जिल्लामा पर्ने लिम्पियाधुरा–कालापानी–लिपुलेक क्षेत्रमा भारतले लामाे समयदेखि सीमा कब्जा गर्दै आएकाे छ।