चितवन, बैशाख २८ । छिमेकी मुलुकले नेपाली भूमिमाथि गरेको हस्तक्षेप गरेको भन्दै समाजवादी विद्यार्थी युनियनले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै बैशाख ३० देखि चारदिने आन्दोलन गर्ने गरी कार्यक्रम सार्वजनिक गरेको हो। युनियनका अध्यक्ष अनुज जोशीका अनुसार बैशाख ३० गते भरतपुरको चौवीसकोठीमा प्लेकार्डसहित मौन जुलुस गर्ने, ३१ गते राष्ट्रिय झण्डासहित पैदलयात्रा गर्ने, जेठ १ गते भारतीय प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गर्ने र २ गते मसाल जुलुस निकाल्ने तयारी भएको छ।
‘हाम्रो आन्दोलन सरकारले गरेको लकडाउनभित्रै रहेर हुनेछ,’ अध्यक्ष जोशीले भने, ‘नेपाल सरकारको अनुमति बिना नेपाली भूमिमाथि हस्तक्षेप गर्नु नेपालीको लागि स्वीकार्य हुँदैन।’ भारतले सडक बनाएर उद्घाटन गरिसक्दासम्म पनि नेपाल सरकार मुकदर्शक बनेर बसेको भन्दै युनियनले वर्तमान सरकार चुनावका बेला मात्रै ठूला कुरा गर्ने र सत्तामा पुगेपछि विदेशी सरकारको दलाली गर्ने प्रवृत्ति मौलाएको भन्दै आपत्तिसमेत जनाएको छ।