बैशाख २९ । कोरोना भाइरसको संक्रमण बढेसँगै कुवेतले आइतबारदेखि मुलुकभर कर्फ्यु जारी गरेको छ।
कुवेत सरकारको गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले १० मेदेखि ३० मे २०२० सम्म पूर्ण कर्फ्यु लागू गर्ने निर्णय गरेसँगै आइतबारदेखि कर्फ्यु लगाइएको हो।
पूर्ण कर्फ्यु लगाइएको बताइए पनि कोपरेटिभ सोसाइटी, खाद्यान्न आपूर्ति गर्ने तथा ग्यास सिलिन्डर वितरण गर्ने पसलहरु खुला रहनेछन्।
मानिसहरुलाई हिँडडुलका लागि बेलुका साँढे ४ देखि साँढे ६ बजे सम्मको समय तोकिएको छ।
उक्त समयावधिमा आफू बसोबास गर्ने क्षेत्रभित्र कार वा अन्य सवारीसाधनको प्रयोग नगरी स्वास्थ्य सम्बन्धी पूर्वसावधानीका सर्तहरू तथा मापदण्डहरू ध्यानमा राखेर मात्र हिँडडुल गर्न पाइने छ।
कुवेतमा सोमबार विहान यो समाचार तयार पार्दासम्म ५८ जनाको मृत्यु भएको छ भने ८ हजार ६८८ जना संक्रमित भएका छन्।