चितवन, बैशाख २९ । जिल्लामा रहेका ७५ जना भारतीयले घर फर्कन चाहेको भन्दै नाम दर्ता गराएका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनले फर्कन चाहने भारतीयलाई नाम दर्ता गर्न सूचना जारी गरेको थियो। आइतबार दिनको तीन बजेसम्म नाम टिपाउन भनिएकोमा सो सङ्ख्यामा नाम दर्ता भएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार दर्ता भएका नाम भारतीय दूतावास पठाइएको छ। सङ्कलन गरिएको विवरणमा नाम, भारतको ठेगाना र कुन नाका मार्फत फर्कनु पर्ने हो, विस्तृत जानकारी पठाइएको उनले बताए।
भारतीय राजदूतावासले जिल्लामा रहेका भारतीय नागरिकको विवरण सङ्कलन गरेर पठाइदिन आग्रह गरेपछि घर फर्कन चाहने भारतीय नागरिकको विवरण सङ्कलनका लागि प्रशासनले शुक्रबार सूचना जारी गरेर सम्पर्कमा आउन आग्रह गरेको थियो।
सिम्खडाका अनुसार विवरण दूतावास पठाएपछि पनि केही व्यक्ति नाम छुटेको भन्दै सम्पर्कमा आएका छन्। ती नाम भने हालसम्म पठाइएको छैन। रासस