काठमाडौं, बैशाख २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपालमा कोरोनाको संक्रमण कति गहिरिने भन्ने यकिन भइनसकेको अवस्थामा जेठ १५ मा सीमित बजेट ल्याएर साउनपछि पूरक बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ।
सोमवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे धारणा राख्दै नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले संविधानको धारा १ सय १९ अनुसार जेठ १५ गते सीमित बजेट ल्याउन सरकारलाई सुझाव दिएका हुन्।
‘कोरोनाको संक्रमण कति गहिरिने हो, स्वास्थ्य क्षेत्रमा के चुनौती आउने हो ? कृषिको चुनौती के हुने ? विप्रेषणमा के कस्तो चुनौती आउने भन्ने यकिन भएको छैन। यस्तो अवस्थामा सामान्य हिसाबले बजेट ल्याएर यो कहरबाट मुक्ति पाउन सकिदैन,’ रिजालले संसदमा भने।
उनले थपे, ‘बजेट सीमित रुपमा ल्याऔं। संसदमा छलफल गरौं, हरेक प्रदेशमा छलफल गरेर साउन पछाडि संविधानको धारा १ सय २१ अनुसारको पूरक अनुमान ल्याउन सकिन्छ। जेठ १५ गते आउने सीमित बजेट र पूरक अनुमान जोडदा आउने वर्षको बजेट बन्छ भन्ने लाग्छ।’
रिजालले कोरोना संकट समाधानका लागि अहिले ल्याउने पूर्ण बजेटले समस्याको समाधान नगर्ने दाबी गरे। ‘कोरोना संक्रमण सरकारको अकर्मण्यता छोप्ने मास्क बनेको छ, ६ महिना अगाडि पनि अर्थतन्त्र ठीक थिएन, अहिले कहालीलाग्दो अवस्थामा पुगेको छ,’ उनले भने।
लगानीकर्ता समेत कहाँ-कहाँ प्रभाव पर्छ भनेर निष्कर्षमा पुगिनसकेकोले पूर्ण बजेटका लागि साउनसम्म धैर्यता गर्नु उपयुक्त हुने रिजालले बताए।