चीन, बैशाख २९ । चीनको शुलान शहर लकडाउन भएको छ। कोरोनाको संक्रमण बढेसँगै शुलान शहरमा लकडाउन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्इमहरुले बताएका छन्।
चीनका सरकारी सञ्चारमाध्यमका अनुसार उक्त शहरमा ११ नयाँ कोरोना संक्रमित फेला परेसँगै त्यहाँ लकडाउन गरिएको हो।
उक्त सबै संक्रमित कपडा धुने महिलाबाट संक्रमणको शिकार बनेको बताइएको छ। ४५ वर्षीया ति महिलाबाट उनका पति, बहिनी र परिवारका अन्य सदस्यमा फैलिएको बताइएको छ। तर, महिलाले तत्काल कुनै पनि मुलुकको यात्रा नगरेको बताइएको छ।
साथै चीनले उक्त शहरका सबै सार्वजनिक स्थान बन्द गर्ने निर्णय गरेको छ भने स्थानीय प्रशासनले सबैलाई आफ्नो घरमा नै बस्न अनुरोध पनि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन्।
जिलिङ प्रान्तको शुलान शहर रुससँग सीमा जोडिएको हेइलोङजियाङको सीमामा पर्दछ।
यसैबीच चीनमा कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ४ हजार ६३३ जनाको मृत्यु भईसकेको छ भने ८२ हजार ९१८ जनालाई संक्रमण भएको छ।
त्यहाँ आज मात्रै १७ जना नयाँ संक्रमित थपिएका छन् भने ९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। चीनमा अहिलेसम्म ७८ हजार १४४ जनाक स्वास्थ्योपचार पछि निको भएका छन्। एजेन्सी