बैशाख २९ । लामो समयको लकडाउनलाई खुकुलो बनाउँदै भारतले मंगलबारदेखि करिब एक दर्जन शहरमा रेल सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। तर, यातायात सञ्चालनमा केही शर्तहरु राखिएका छन्। र, पहिलो चरणमा दिल्लीबाट तोकिएका निश्चित शहरमा मात्र रेल सञ्चालन गरिँदैछ।
लकडाउनको ५० दिनपछि मंगलबारदेखि भारतमा रेल चल्न लागेको हो। त्यहाँको रेल मन्त्रालयका अनुसार मंगलबारदेखि १५ एसी कोच भएको रेल सञ्चालनमा आउन लागेका हुन्।
यी रेलहरु नयाँ दिल्लीबाट पटना, राँची, हावडा, डिब्रूगढ, अगरतला, विलासपुर, भुवनेश्वर, सिकन्दरवाद, बेंगलुरु, चेन्नेई, तिरुअनन्तपुरम, मडगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मूसम्म जानेछन्।
यी रेलको बुकिङ सोमबार चार बजेदेखि शुरु हुने बताइएको छ।
रेल सञ्चालनका क्रममा स्वास्थ्यसम्बन्धी केही शर्तहरु तोकिएका छन्। यात्रुले अनिवार्यरुपमा मास्क लगायत कपडाले अनुहार ढाक्नुपर्ने छ। टिकट अनिवार्यरुपमा अनलाइनमार्फत दिनुपर्ने छ। टिकट बुकिङ काउन्टरहरु खोल्न पाइने छैन। साथै तोकिएको स्टेशनबाहेक अन्य स्थानमा यात्रुहरुको चढाउन, ओराल्न पाइनेछैन। टिकट दर पहिलेको भन्दा केही महंगो हुन सक्ने बताइएको छ।
भारत सरकारले यसपछि चरणवद्ध रुपमा थप रेल सञ्चालनमा ल्याउने बताएको छ। रेल भारतको महत्वपूर्ण सार्वजनिक यातायात हो।