काठमाडौं, बैशाख ३० । नेपाली कांग्रेसले कोरोना भाइरसको महामारीमा संक्रमितको उपचार र हेरचाहमा खटिएका नर्सहरूलाई पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएको छ।
विश्व नर्स दिवसको अवसर पारेर कांग्रेसले संक्रमितको हेरचाहमा खटिएका नर्सहरूको मनोबल उच्च राख्न सरकारको ध्यानाकर्षण गराएको हो।
“कोरोना महामारीको यो अप्ठ्यारो समयमा निरन्तर संक्रमितको उपचार र हेरचाहमा अहोरात्र खटिनुभएका नर्सहरूलाई पर्याप्त स्वास्थ्य सामग्री उपलब्ध गराउन र उहाँहरूको मनोबल उच्च राख्न नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आइरहेको छ,” सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विश्व नर्स दिवसको अवसरमा पनि सरकारको पुनः ध्यानाकर्षण गराउँदै नर्सिङ क्षेत्रमा क्रियाशील सम्पूर्ण नर्सहरूमा पुनः शुभकामना व्यक्त गर्दछु।”
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारणबाट उत्पन्न अत्यन्त कठिन र संवेदनशील घडीमा स्वास्थ्य क्षेत्रमा क्रियाशील नर्सहरूको भूमिका अत्यन्त उच्च रहेको भन्दै उनले नर्सहरू प्रति उच्च सम्मान व्यक्त गर्न चाहेको पनि उल्लेख गरेका छन्।